Tags

,

ब्लगमा केही नयाँ लेख राख्छु भन्दा भन्दै गीतहरु मात्र अपडेट गर्दे बसेको पनि निकै समय वितिसकेछ। हुन त समय नभएर पनि होला, तर फुर्सद हुने वित्तिकै हिन्दी वा अँग्रेजी अनि राम्रा नयाँ वा पुराना क्लासिक चलचित्र कता छन् भन्दै हेर्न बसिहाल्ने वानीले पनि समय नदिएको हो कि भन्ने मेरो मेरो ठम्म्याई हो। (अली प्रचन्डे पारा पो भएछ..हा हा।)

अब यो ब्यबसाहिक लेखक नभएपछि लेख्न खासै मन पनि जाँदो  रहेनछ। लेख्यो आफैलाई के लेखे के लेखे जस्तो लाग्ने। फेरी लेख्न सुरु गर्यो के बिषयमा लेखु भन्ने सधैको समस्या। अरु ब्लगहरु यसो हेर्यो कोहि आफ्नै प्रर्यासमा केहि लेख्दै छन् त कोहि अर्काको टाँसो दुरुस्त आफ्नो ब्लगमा कपि-पेष्ट गर्नपनि भ्याएकै छन्। आफ्नै प्रयासमा कतै बाट सन्दर्भ सामाग्री लिएर नियमित ब्लगीङ गर्ने साथीहरुलाई त मान्नै पर्छ बा।।  आफ्नो त ढँग भए पो। फेरी अर्काको टाँसोलाई आफ्नो टाँसो बनाएर टाल्ने साथीहरु देखि पनि ईर्ष्या लागेर आउछ, कमसेकम त्यती गर्ने आँट भएको भएपनि त   अहिले सम्म  मेरो ब्लगमा  पनि  थुप्रै लेखहरु हुन्थे होलान्, आर्काईव सेक्सनमा जाँदा एउटै महिनामा वाह! कति लेख रहेछन है भन्दै मख्ख पनि परिन्थ्यो होला?

ब्लगीङ आफैमा रमाईलो छ। आफ्नो मनमा केहि विचार आयो फ्याट्ट लेखिदियो अनि प्रकाशित गर्यो। तर पनि लेख्नलाई मनमा केहि त फुर्नु पर्यो। अब आफू परीयो साईन्सको बिध्यार्थी, साहित्य कसरी फुराउने भन्ने अर्को धौ धौ सधै। हुन  त  साईन्सको बिषयमा लेखेपनि त हुने कस्ले छेक्या छ र? डा. तिर्थराज श्रेष्ठ अनि डा. दयान्नद बज्राचार्यले जस्तै नेपालीमा साईन्स सम्बन्धि लेख लेखे पनि त हुने। तै पनि लेख्न गारो काम हो बा। फेरी ब्लगमा पनि के को साईन्स नि भन्दै दिमागले ठाँउ नै  दिदैन? अब आज पनि हेर्नुस न के लेख्छु भन्दै थिए, आफ्नै लेखन पाराको बारेमा लेख्दा लेख्दै यहाँ आईपुगेछु।

हेर्दाहेर्दे अब २०१० पनि बिदा हुन लागिसकेको रहेछ। समय बित्न केहि गारो हुँदो रहेनछ। २०१० लाई स्वागत गरेको भर्खर जस्तो लाग्दै छ, विदाई गरेर २०११ लाई स्वागत गर्ने तरखरमा पो पुगीसके छौँ। यसै सन्दर्भमा “समय पँछी हो खुला यसको बन्धन बाधेर बाँधीदैन उड्छ निरन्तर” भन्ने धेरै पहिला सुनेको गीत याद आयो। सायद नबिर्सेको भए डेनी डेनजोम्पाको स्वरमा हुनुपर्छ यो गीत, तर चलचित्र चाँहि याद भएन। हुन त ३१ डिसेम्बर, २०१० र  जनवरी १ २०११ को विहानीमा खास फरक हुदैन तर पनि हामी सबै १ जनवरीको बिहानलाई महत्व दिन्छौ किनभने नयाँ सालबाट हामीले नयाँ कुराको अपेक्छ्या राखेका हुन्छौ। कोही   ब्यक्तिलाई गएको सालमा मिठा  पलहरुले  स्वागत गरे होलान् त कसैलाई तिता यादहरु पनि दिएर गए होलान्। जे होस सँसारको रितनै यो हो कि हामीले कुनै समय साच्चैनै मिठो र स्मरणीय पलहरु भोगेका हुन्छौ त कुनै समय निकै नै तितो र बिर्सनयोग्य पलहरु पनि भोग्न बाध्य हुन्छौँ। त्यसैले त भनिन्छ समयजस्तो बलवान कोही   पनि   छैन भनेर।

जस्तो  सुकै र जे भएपनि हामीले भबिष्यलाई देखेका हुदैनौ र समयले मानिसलाई कहाँ पुर्याउछ भन्ने पनि थाहा हुदैन। त्यसैले २०११ लाई सबै मिलेर राम्रो र उल्लासपूर्ण वातावरणमा स्वागत गरौँ किनकी यो सालमा विश्व  लगायत  हाम्रो जीवनमा  पनि  के कस्ता घटना घट्छ भन्ने भविष्यको गर्भमा नै छ। हामी यतिमात्र कामना गर्न सक्छौ कि आउने बर्षमा हाम्रो देशका नेताहरुको बुद्दि पलाओस् , जनताको सँबिधान चाँडो भन्दा  चाँडो   बनोस्, शान्ति प्रकृया चाडो निश्कर्षमा पुगोस्, जनताले देशमा लोडसेडिङ र महँगीको मार खेप्न नपरोस्, बिदेशमा रहेका सम्पूर्ण युवाहरुलाई स्वदेशमा रोजगारीको ब्यवस्था भएर आफ्नो देश फर्कने बातावरण बनोस्।

अन्त्यमा,  यस  ब्लगका सम्पूर्ण पाठकहरुको  बर्ष २०११ अत्यन्त उल्लासपूर्ण वातावरणमा बितोस भन्ने कामना अनि  यो ब्लगले यसैगरी  सधैँ  यहाँहरुको माया पाईरहोस भन्ने कामनासहित ” नयाँ   बर्ष २०११ को हार्दिक मँगलमय शुभकामना.”……..अस्तु!!!!!!!!!!!!!!