कमरेड ‘प्रचण्ड’को राजनीतिक यात्राको सारभूत लक्ष्य भनेकै सत्ता, बन्दुक र पैसा हो। जगन्नाथ खतिवडाको टिप्पणी

२४ वैशाखको शान्तिसभामा सहभागी काठमाडौंका शान्तिकामी नागरिकहरूलाई चर्को गाली गरेपछि थप आलोच्य बनेका एमाओबादीका अध्यक्ष पुष्पकमल दाहालले याक एण्ड यती होटलको बन्द कोठाभित्र केही मानिसलाई बोलाएर माफी मागेकोमा धन्यवाद दिनैपर्छ। खुलामञ्चमा हजारौँ जनतामाझ गाली गरेर सय-पचाससँग माफी माग्ने उनको चलाखी गजबको छ। उनले बुद्धिजीवी-व्यवसायीहरूसँग क्षमा मागिरहँदा आमजनतासँग झुक्ने जमर्को चाहिँ गरेनन्। मानौं, जनताको भावनासँग खेलवाड गर्नु उनका लागि सामान्य हो।

उनको परिभाषामा जो जनता थिएनन्, तिनका अगाडि लज्जाबोध भएको हाउभाउ गरे, धिमा स्वरमा बोले अनि सकस भए झैँ गरेर मलाई क्षमा दिनुहोस् भने। जम्मा एक प्रतिशत खराब बुद्धिजीवीलाई मात्र गाली गरेको भनेर खुलाए। उपस्थितहरूले पनि आफूहरू ९९ प्रतिशतमा परेको सम्झेको हुनुपर्छ। उता अध्यक्ष महोदयलाई लाग्यो होला- मैले आज फेरि यिनीहरूलाई थाङ्नामा सुताएँ, लौरो नभाँचिकनै सर्पलाई सिध्याएँ।

लाग्छ, समयले ठट्टा गरेको अहिलेको नेपाली राजनीतिमा केही व्यक्तिलाई नाम अनुसारको काम पनि जुरेको छ। माओवादीका अध्यक्षलाई नै हेरौं, जन्मेको ११औं दिनमा उनी छविलाल थिए। पुरोहितले न्वारानमा यही नाम राखिदिए। छवि अर्थात् सूर्यको किरण, तेज, सौन्दर्य आदि। त्यसपछि उनी पुष्पकमल अर्थात् फूल बने। जनयुद्धमा होमिएपछि पुष्पकमल उनलाई मनपर्ने नाम भएन। आफ्नो सिद्धान्त, ज, तेज र गतिलाई यो नामले थेग्न नसकेको अनुभव भएको हुँदो हो, आफ्नो न्वारान आफैं गरेर उनी प्रचण्ड बने। प्रचण्ड अर्थात् ज्यादै खरो, कसैसँग नदब्ने, नडराउने, सहन मुश्किल आदि। जे होस्, नाम अनुसारको काम गर्ने विरलै मानिसमध्ये परेकोमा बुद्धिजीवी, पेशाकर्मी र नागरिकहरूले प्रचण्डको समर्थन गर्नै पर्छ। आलोचना त ती विचराहरूको हुनुपर्छ, जो धनबहादुर नाम राखेर जीवनभर कङ्गाल रहन्छन्।

प्रचण्ड एउटा अतिवाद, उग्रवाद या सबैभन्दा चर्को अति हो। त्यसैले उनी विरोध चर्को गर्छन्, समर्थन पनि चाकरीकै शैलीमा गर्छन्। कहिले सुरुङ्ग युद्धद्वारा कुनै देशलाई ठेगान लगाउने अतिवादमा हुन्छन् त कहिले त्यही सुरुङ्ग मार्गबाट साउथ-ब्लकमा अवतरण गर्छन्। कहिले उग्रवामपन्थी अवसरवाद त कहिले उग्रदक्षिणपन्थी अवसरवादमा पुग्छन्। मानौं, प्रचण्डपथको मौलिकता नै यही हो।

एमावादीभित्र धेरैवटा प्रचण्डलाई एकसाथ हिँडिरहेको देख्न सकिन्छ। जो-कोहीलाई दम्भपूर्वक तथानाम गाली गर्न सक्ने, जसलाई पनि वर्ग शत्रु र दलाल देख्न सक्ने, आफ्नो बोली आफैंलाई प्रतिकूल हुनेबित्तिकै आफैं त्यस्तो हुन गएकाले क्षमा पाऊँ पनि भन्न सक्ने। प्रचण्ड शब्द नाम होइन, विशेषण नै बनिसकेको छ। तसर्थ प्रचण्ड शब्दलाई अध्यक्ष पदले मात्र धान्न नसक्ने देखिएकाले पार्टीका सबैको गुणवत्ता समेट्ने गरी उनीहरूको नाममा समेत प्रचण्ड उपसर्ग लगाउनु बुद्धिमानी हुनेछ। उदाहरणका लागि प्रचण्ड-लालध्वज, प्रचण्ड-किरण, प्रचण्ड-प्रकाश, प्रचण्ड-बादल आदि। यस्ता नामहरूले एमावादी पौरख, गौरव र सभ्यतालाई आत्मसात् गर्न सक्ने थिए।

बाबुराम भट्टराईलाई भारतले प्रधानमन्त्री बनाउन लागेको आरोप लगाएको भोलिपल्ट प्रचण्डले सो पदमा आफ्नै दावेदारी प्रस्तुत गरे। आमहडतालको बेला उनको कडा प्रस्ताव थियो- माधव नेपालले राजिनामा गरेर मात्र हुँदैन, प्रचण्डलाई प्रधानमन्त्री नबनाई आन्दोलन रोकिँदैन। तर फेरि एकाएक उनको अभिव्यक्ति सुनियो- नेतृत्व आजको मूल मुद्दा होइन। खुलामञ्चमा रौद्र रूपमा प्रकट भएका नेता चौथो दिनमा विनम्र देखिन खोज्नुलाई सकारात्मक नदेख्नु आमरूपमा पूर्वाग्रह हुनसक्दछ। यद्यपि, त्यसभित्र इमानदारी होइन, कुटिल विचार प्रक्षेपण गर्ने धूर्त्याइँ छ भनेर अनुमान गर्न गाह्रो पर्दैन।

अन्तरिम व्यवस्थापिका संसद्मा उपस्थित हुँदा ८३ जना मैलाधैला मानिसको अनुहार फुङ्ग उडेको देखिन्थ्यो। उनीहरू जनयुद्धको मैदानबाट भर्खरै फर्किएका मानिस भएकाले सम्मान गर्नुपर्छ भन्ने भाव अरू सांसद्हरूमा देखिन्थ्यो। त्यसो त संविधानसभा निर्वाचनपछि आएका सबै २४० मैलाधैला आज फक्रँदो जवानीमा प्रवेश गरे झैँ झ्रिला देखिन्छन्। र, अरूलाई अहोरात्र गाली अनि आफ्नो ढाकछोप गर्छन्।

सचेत नागरिकहरूको अनुमानमा एमावादीका अध्यक्ष महिनामा कम्तीमा ५-७ लाख रुपैयाँ खर्च गर्छन्। वर्ष दिनभरिमा एक हजारको नोट एकैपटक हातमा नपर्ने धेरै नेपालीका यी मुक्तिदाता नेता शानपूर्ण जीवनका लागि यतिका रकम सिध्याउँछन्। कठपुतली भनिएको सरकारबाट मासिक रु.८० हजार बुझ्छन्। करोडभन्दा बढी पर्ने सरकारी गाडी र सुरक्षा प्राप्त गर्छन्। उनका केन्द्रीय सदस्यहरू पनि कठपुतली सरकारको गाडी, ड्राइभर, इन्धन र सुरक्षा उपभोग गर्छन्। जिल्लाका नेता-कार्यकर्ताहरू भने पार्टीको नाममा स्वयंपाक्य बन्छन्।

आखिर यो सब केका लागि? यतातिर कमैले मात्र सोचेका छन्। केका लागि भने कमरेड प्रचण्डको राजनीतिक यात्राको सारभूत लक्ष्य भनेकै सत्ता, बन्दुक र पैसा हो। जसको राजनीतिक आदर्श नै सत्ता, बन्दुक र पैसामा छ, उसले पार्टी र जनताका लागि के नै पो सोच्ला र! आज उनीसँग पैसाको अनिकाल छैन। एउटा आन्दोलनमा अर्बौं रुपैयाँ खर्चने हैसियत छ। बन्दुक, बम, ग्रिनेडलगायत साना-ठूला हतियारको पौलो नै छ, नभए खुला सिमाना छँदैछ। घर जलाएर विगुत घस्ने महानता छ। नभएको त केवल सत्ता मात्र हो।

आफूसँग नभएको सत्ता प्राप्तिका लागि प्रचण्ड कहिले रुन्छन्, कहिले हाँस्छन्। कहिले गाली गर्छन्, कहिले श्राप दिन्छन्। कहिले हत्या, आतङ्कलाई प्रश्रय दिन्छन् त कहिले शिर निहुर्‍याएर माफी माग्छन्। याक एण्ड यती होटलको नाटक यही शृङ्खलाको छोटो दृश्य मात्र हो। माया गरुँ भन्दा गर्न नपाइने, गाली गरुँ भन्दा तिनको नृशंसतालाई सम्बोधन गर्ने शब्द नपाइने; औंलो दिँदा डुँडुलो समेत निल्ने प्रचण्ड अभ्यासबाट मुलुक अहिले आहत छ। यसर्थ बुद्धिजीवीहरू कृपया नरिसाउनुहोस्, बरु कविला सभ्यताबाट माथि उठ्न सघाउनुहोस् र प्रश्न गर्नुहोस्- के दुष्ट हुनु तपाईंहरूको नियति हो?

साभार: हिमाल खबरपत्रिका, बर्ष-२०, अँक-३